सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई निवृत्तभरण, उपदान लगायतका सेवा, सुविधा दिने व्यवस्था २०३५ सालमा भएपछि अभिलेख राख्ने र सेवा, सुविधाका कार्य क्षेत्रीय शिक्षा निर्देशनालयवाट हुँदै आएकोमा अलग्गै निकायबाट उक्त कार्य संचालन गर्ने उदेश्यले मन्त्रिपरिषद्को मिति २०५४ माघ २ गतेको निर्णय बमोजिम शिक्षा नियमावली २०४९ मा भएको (छैठौं संशोधन), २०५४ ले विद्यालय शिक्षक कितावखाना स्थापना भई
यस कार्यलाई २०५४।११।१९ गते देखि शिक्षा नियमावलीमा आवद्ध गरेपछि मिति २०५४।१२।२६ गते देखि शिक्षा मन्त्रालय, केशरमहल परिसरको एक कोठाबाट कार्य आरम्भ गरी वि.सं. २०५५ साल भाद्र महिनादेखि ताहाचल स्थित जिल्ला शिक्षा कार्यालय काठमाडौंको भवनमा स्थानान्तरण गरियो । हाल विद्यालय शिक्षक कितावखाना काठमाडौं महानगरपालिका वडा नं. १३ म्यूजियम मार्ग, छाउनीमा निर्माण भएको आफ्नै भवन वाट वि.सं. २०६६ जेष्ठ देखि सेवा प्रदान गर्दै आएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा रहेको यस विद्यालय शिक्षक कितावखाना सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माताहरुलाई शिक्षक सम्बन्धी आवश्यक विवरण एवम् तथ्याङ्क उपलब्ध गराउनुका साथै सेवाबाट अलग भएका शिक्षकहरुलाई निवृत्तभरण, उपदान, पारिवारीक निवृत्तभरण पारिवारीक वृत्ती, शैक्षिक भत्ता तथा सन्तती वृत्ती, विरामी विदा (अस्थायी अवधिको समेत) को रकम जस्ता सेवा,सुविधाहरु प्रदान गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ । विद्यालय शिक्षक कितावखानाले शिक्षकहरुको अभिलेख व्यवस्थापन लगायत जिल्ला शिक्षा कार्यालयको सिफारिश सहित सेवा निवृत्त वा सेवारत स्थायी शिक्षकहरुलाई शिक्षा नियमावली २०५९ (संशोधन सहित) वमोजिम उपलब्ध गराउनु पर्ने सेवा, सुविधाहरु निर्धारण गरी निरन्तर रुपमा आधुनिक प्रविधिको माध्यमबाट समेत छिटो, छरितो एवम् चुस्त, दुरुस्त रुपमा प्रदान गर्न सदैव प्रयासरत रहेको छ ।